कर्णाली । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कर्णाली प्रदेश सभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरण विपरीत कार्य गरेको भन्दै शर्मालाई दलको सदस्य र सांसद पदबाट समेत हटाउन बुधबार कर्णाली प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिएको छ ।
नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिीद्वारा हस्ताक्षरित पत्रमा शर्माले पार्टीको विधान २०८२ र संसदीय दलको विधान २०८२ प्रतिकूल कार्य गरेको उल्लेख छ ।
माघ २६ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको साधारण सदस्य, केन्द्रीय समिति सदस्य र संसदीय दलको सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) बमोजिम शर्मालाई निष्कासन गरिएको जानकारी गराउँदै सोही ऐनको दफा ३४ को उपदफा (१) अनुसार उनलाई प्रदेश सभा सदस्यको पदबाट समेत मुक्त गर्ने प्रक्रिया अगाडि बढाउन सचिवालयलाई अनुरोध गरिएको छ ।
शर्मा नेकपातिर नलागी जनार्दन शर्माको प्रलोपातिर लागेपछि उनीमाथि कारबाही गरिएको हो ।
