मछिन्द्रलाई हराउँदै जावलाखेल आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा । जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० को गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलको ५४औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी निकोलस हेमिलटनले गोल गर्दै जावलाखेललाई दिलाए । यसैगरी दोस्रो गोल ६४औं मिनेटमा बौबुकार सिसोखोकोले गरे ।

मछिन्द्र पटक–पटक खेलमा फर्किन खोजे पनि त्यसलाई जावलाखेलका खेलाडीहरूले विफल तुल्याए । खेलमा निकोलस ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद रु १० हजार पुरस्कार पाए  ।

सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार,उपविजेताले रु सात लाख एक हजार पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको हो । गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही रु २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ ।यसैगरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार रु १० हजार र ट्रफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *