एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

सुरुङ्गा (झापा) । झापाको विर्तामोडमा जारी सातौँ झापा गोल्डकपको आज सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज सम्पन्न खेलमा भूटानको रोयल थिम्पू कलेजलाई ४–१ गोल फरकिलो गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ सेमिफाइनल प्रवेश गरेको हो । खेलको छैटौँ मिनेटमै एपिएफले पहिलो गोल गर्दै खाता खोलेको थियो । एपिएफका लागि तीन गोल कप्तान हरि कार्कीले गरेका थिए ।

भूटानका लागि एक मात्र सान्त्वाना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९औँ मिनेटमा किञ्जाङ तेञ्जिङ शेर्पालाई एपिएफका दिपेश धिमालले डिबक्समा फल गरेपछि भूटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद रु २५ हजार पुरस्कार पाए । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच हुनेछ ।

प्रतियोगितामा विर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ । त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएका एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही रु ३५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *