फागुन १४ देखि ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ हुने

काठमाडौं । नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी फागुन १४ देखि १६, २०८२ (फेब्रुअरी २६–२८, २०२६) सम्म ‘२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर र्याफ्टिङ र कायाकिङ महोत्सव’ गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डको हलमा बुधबार पत्रकार सम्मेलन गर्दै २४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ मा ३० अन्तर्राष्ट्रिय खेलाडी र १४० राष्ट्रिय खेलाडी सहभागी हुने जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनका क्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्ड लामो समयदेखि ह्वाइटवाटर शृङ्खलासँग जोडिँदै आएको उल्लेख गर्दै विगतका श्रृंखलाहरुमा देखिएका कमजोरी सच्याउँदै यसपटक नदीजन्य साहसिक खेललाई नेपालको सशक्त पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी गरिएको जानकारी दिए ।

‘सगरमाथा र हिमाललाई मात्र होइन, राफ्टिङ, कायाकिङ र कनोइङजस्ता नदीमा आधारित साहसिक गतिविधिलाई पनि अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्नुपर्ने छ,’ ऐरले भने, “यसका लागि हाम्रा नदीहरुको संरक्षणमा पनि जोड दिन आवश्यक छ ।’

बोर्डले यसलाई छुट्टै पर्यटन उत्पादनका रूपमा विकास गर्दै सातवटै प्रदेशमा विस्तारका लागि सहजीकरण गर्ने प्रतिबद्धतासमेत वरिष्ठ निर्देशक ऐरले बताएका छन् ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि जलविद्युत आयोजना र नदीजन्य उत्खनन्का कारण नदीमा हुने साहसिक खेल गतिविधिमा असर परिरहेको बताएका छन् ।

उनले भने, ‘नदीमा हुने साहसिक खेल गतिविधिका लागि सरकारले जलविद्युत आयोजना निर्माण र पर्यटनका लागि नदी पहिचान गरी राफ्टिङलगायतका साहसिक खेल गतिविधि गर्न नदी छुट्याउनु पर्छ । यसका लागि नाराले पहल गर्नेछ भन्ने विश्वास लिएको छु ।’

नाराका अध्यक्ष कमलबहादुर ठकुरीले ‘२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव’ केवल एक प्रतियोगिता मात्र नभएर नेपालको ५० औं जलयात्रा इतिहासको उत्सव भएको बताएका छन् ।

यस महोत्सवअन्तर्गत कायाकिङतर्फ दुई र र्याफ्टिङतर्फ एक गरी तीन विधामा प्रतिस्पर्धा हुनेछछन् । जसमा पहिलो दिन १०० भन्दा बढी कायकरबीच रेस, दोस्रो दिन नकआउट सेसन र तेस्रो दिन राफ्ट सेसन सञ्चालन हुनेछ । समग्रमा खेलाडी, स्वयंसेवक, निर्णायक र दर्शक गरी ४००–६०० जनाको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

कार्यक्रममा राफ्टिङको व्यावसायिक सुरुवात गर्ने हिमालयन रिभर एक्सप्लोरेशनका संस्थापकहरूलाई विशेष सम्मान गरिनेसमेत आयोजकले जनाएको छ ।

नेपालमा राफ्टिङको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोशीमा गरेको जलयात्रा महत्वपूर्ण कोशेढुङ्गा बनेका थिए । सन् १९७५ मा हिमालयन रिभर एक्सपोलेशनमार्फत् व्यावसायिक र्याफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो भने नारा वि.सं. २०४६ मा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *