आहा रारा पोखरा गोल्डकपमा आयोजक सहाराको विजयी सुरुवात

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा रङ्गशालामा सुरु भएको छ ।

सहारा क्लबले पहिलोपटक अस्थायी फ्लडलाइटमा सन्ध्याकालिन खेल सञ्चालन गरेको हो । उद्घाटन खेलमा आयोजक सहारा क्बल पोखरा विजयी भएको छ । सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० ले पराजित गर्यो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको थपिएको चार मिनेटको इन्जुरी समयमा आयोजक टोलीका प्रशन्न श्रेष्ठले गोल गरेपछि सहारा विजयी भयो ।

प्रतियोगितामा आयोजक सहारा र गोरखा इन्टरनेशलसहित नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब छन् । यसैगरी विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड सहभागी छन् ।

आगामी फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजार, उपविजेताले सात लाख एक हजार पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको हो । गत वर्ष उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

“प्रतियोगिताको आकर्षण वृद्धि गर्न यस वर्ष विगतको तुलनामा पुरस्कार बढाएका छौँ भने रात्रिकालिन फुटबलले यहाँको फुटबल माहोल बढाउने विश्वास छ”, सहाराका अध्यक्ष केशबबहादुर थापाले भने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजारका साथमा ट्रफी पाउनेछन् । प्रतियोगिताका खेलमा ‘प्लेयर अफ दि म्याच’ हुनेले १० हजार र ट्रफी पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महागनर प्रमुख धनराज आचार्यले पोखरा रङ्गशालामा स्थायी फ्लडलाइट जडानका लागि महानगरले पहल गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *