काठमाडौँ । सरोकारवालाहरुले मुस्ताङको इतिहास, संस्कृति तथा सम्पदाको उजागर गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल समाज मिडिया प्रालिले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरुले मुस्ताङको इतिहास र सम्पदाको ऐतिहासिक महत्व भएपनि त्यसको उजागर हुन नसकेको औंल्याएका हुन् । कार्यक्रममा सोबारिपा इन्टरनेशनल कलेजका संस्थापक निर्देशक आम्ची तेन्जिन धार्केले मुस्ताङको सोवारिपाको व्यवस्था र अभ्यासकाबारेमा चर्चा गर्दै यसलाई जनचासोको विषय बनाउनुपर्ने बताए ।
सोवारिपा एलोपेथी, होमियोपेथी, आयुर्वेद जस्तै मुस्ताङको उपचार प्रणाली भएकाले देशव्यापी उपचार पद्धतिकोरुपमा विकास गर्नुपर्ने बताए । यो उपचार पद्दतिकाबारेमा गुरु पद्यसम्भव, गुरु रिन्पोछेलेसमेत लेखेको पाइएकाले यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने बताए । उनले यो हिमाली क्षेत्रमा हजारौँ वर्षदेखि प्रख्यात उपचार पद्दति रहेको बताए । उनले यसलाई देशव्यापी बनाउन सके हिमाली जडीबुटीबाट सस्तोमा औषधि उत्पादन हुने, उद्योग खोलेर रा्ेजगारी दिन सकिने, वातावरणमैत्री हुने, पर्यटन प्रवद्र्धन र औषधि आयातमा कमी आउने भएकोले यसमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा योगी नरहरिनाथ वृहत अध्यात्म परिषदका महासचिव डा. योगी दयानाथले मुस्ताङकाबारेमा शिवपुराण, हिमवतखण्डमा तथा नरहरिनाथका एक दर्जन पुस्तकमासमेत उल्लेख भएकाले यसको महत्व रहेको बताए । त्यस्तै पुस्तकमा हिरण्यकश्यपुलाई मुस्ताङबाट उद्दार गरिएकोसमेत उल्लेख भएकाले मुस्ताङ ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण रहेको बताए । उनले महाभारत युद्ध जितेपछि पाण्डवहरु मुस्ताङतर्फ गएको र अरु बाटोमा बितेपछि युधिष्ठिर मुस्ताङ हुँदै तिब्बत गएकाले यसलाई स्वर्गकारुपमा उल्लेख गरिएको बताए । उनले मुस्ताङ सुन, ऊन र नुनको व्यापारिक स्थल भएको पनि बताए ।
कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले मुस्ताङलाई धार्मिक एवं सांस्कृति पर्यटनको हब बनाउन सकिने बताए । उनले यसलाई बौद्ध तीर्थस्थलकारुपमा विकास गर्न सकिने बताए । उनले गुरुहरुसँग सम्बन्धित ठाउँलाई पदयात्रा रुटकारुपमा विकास गर्न सकिने बताए । उनले भने,‘गुरुहरु हिँडेको पाइलाका आधारमा पदयात्रा रुट बनाउन सकिन्छ । जस्तैः मिलारेपा ट्रेल, रिन्पोछे ट्रेल बनाउन सकिन्छ । त्यस्तै मुक्तिनाथ, दामोदरकुण्ड र कागबेनीलाई पनि थप विकास गर्न सकिन्छ ।’
त्यस्तै उनले गुम्बा, गुफाको मात्रै छुट्टै तीर्थस्थलका रुपमा विकास गर्न सकिने बताए । त्यस्तै १३ औँ सताब्दीमा मुस्ताङमा सिल्करोडको शाखा रहेको उल्लेख रहेकाले मुस्ताङ दुबै हातमा लड्डु भएको बताए । उनले यसलाई विकास गर्न सकेको खण्डमा मुस्ताङमा विदेशीको ताँती लाग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मुस्ताङका अधिराजकुमार जिग्मे सेङ्गे पल्बरले मुस्ताङ १५ औँ सताब्दीमा तिब्बत र दक्षिण एसियालाई जोड्ने सेतु रहेको बताए । उनले नेपालको परिचय दिने मुस्ताङ पछिल्लो समय जलवायु परिवर्तन र बसाइँसराइको मारमा परेको बताए । त्यसैले मुस्ताङको मौलिक संस्कृति परम्परा संरक्षणमा चुनौती देखापरेकाले त्यसलाई जोगाउनेतिर लाग्नुपर्ने उनले बताए । उनले अब युवा पलायन रोक्नुपर्ने, स्थानीय ज्ञान, संस्कृति जगेर्नामा काम गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा विश्व वन्यजन्तु कोषका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङले मुस्ताङको मौलिक संस्कृति जगेर्ना गर्नुपर्ने बताए । उनले विगत र वर्तमान अवस्थाकाबारेमा अध्ययन अनुसन्धान हुनुपर्ने बताए । उनले भने, ‘जस्तो गुफा कहिले बन्यो भन्ने मिति खोज्नुपर्यो र अहिलेको अवस्था के छ त्यो खोज हुनुपर्यो । अनि आम्ची उपचार पद्दति कहाँबाट आयो र वर्तमान त्यसको अवस्था के छ ? खोजी हुनुपर्छ ।’
उनले मुस्ताङमा मौलिकता हराउँदै गएको बताए । उनले भने,‘एक त जलवायु परिवर्तनको मारमा परेको छ । माटोका घर हुन्थे पहिला, अहिले सिमेन्टका बन्न थाले । स्थानीय खानेकुरा पाइन छाडेको छ । जस्तो फापर पाइँदैन अहिले । स्याउ मात्र फल्छ । अबको ४० वर्षपछि त्यो पनि नपाउला । अनि त्यसलाई नजोगाउने हो भने किन मुस्ताङ जाने ? अनि स्थानीय संस्कृति, खाद्यान्न केही नभएपछि के को गीत गाउने ?’
उनले संस्कृति जोगाउन र पुस्तान्तरणका लागि युवालाई यसमा सहभागी गराउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल समाजका सल्लाहकार लोवचा पुण्यप्रसाद पराजुलीले सरकारी तवरबाट मुस्ताङको महत्व उजागर गर्नेतर्फ ध्यान नगएको बताए ।
कार्यक्रममा पद्यकन्या क्याम्पसका उपप्राध्यापक उमेश रेग्मीले मुस्ताङको इतिहास र सांस्कृतिक सम्पदाकाबारेमा प्रकाश परेका थिए ।
त्यसैगरी अन्तर्राष्ट्रिय बुद्धिष्ट एकेडेमीका प्राचार्य डा. ङवाङ जोर्देनले मुस्ताङको ज्ञान सीप जोगाउन युवा पुस्तालाई संलग्न गरानुपर्ने बताए । उनले यसका लागि मुस्ताङीनै अघि सर्नुपर्ने बताए ।
कार्यक्रममा मुस्ताङको लुप्रा आधारभूत विद्यालयका शिक्षक गेसे निमा दुण्डुल गुरुङले मुस्ताङ र बोनधर्मका बारेमा चर्चा गरेका थिए । उनले माथिल्लो र तल्लो मुस्ताङमा ११ औँ सताब्दी अघिका बोनधर्मका गुम्बाका अवशेष भेटिएकाले ती संरचना संरक्षण गरी थप अनुसन्धान गर्नुपर्ने बताए ।
ज्ञानज्योति माविका शिक्षक गेन जाम्याङ छिरिङले लोबोको धार्मिक तथा सांस्कृतिक पक्षकाबारेमा प्रकाश परेका थिए । उनले मुस्ताङ पुरानो भाषाको श्रोत, हजारौँ वर्ष पुराना गुफा, तिब्बतमा प्रभाव पार्ने विद्वान, युरेनियमको खानीसमेत भएकाले यसकाबारेमा खोज अनुसन्धान गर्नुपर्ने बताए ।























