बागमती । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर २ मा पनि चुनावी माहौल ताकेको छ। यस क्षेत्रमा पुरानो विरासत जोगाउन र नयाँ इतिहास बनाउने बीचको प्रतिस्पर्धाले चुनावी वातावरण रोचक बनेको छ ।
राजनीतिक दलहरू गठबन्धन नगरी एकल रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यस क्षेत्रको चुनावी परिणामबारे विभिन्न अड्कलबाजी हुन थालेको छ । यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र पाँच गरी २१ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाल कम्युनिष्ट पार्टी(एमाले) बाट महेशकुमार बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर बिष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष बिष्ट, श्रम संस्कृति पार्टीबाट युनेश लामा सिंतान, उज्यालो नेपाल पार्टीबाट डा प्रवीणकुमार स्याङ्तान चुनावी मैदान छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम घलान, जनता समाजवादी पार्टीबाट छविलाल वाइवा, मङ्गोल नेसनल अर्गनाइजेसनबाट हिरालाल स्याङ्तान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र रूपमा कृष्णराम श्रेष्ठ, रमेश आचार्य, प्रतीक्षा बानियाँ, अमृत बल चुनावी प्रतिस्पर्धामा छन् ।
यीमध्ये एमालेका बर्तौला अघिल्लो २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । राप्रपाका थोकर दोस्रोपटक चुनावी प्रतिस्पर्धा उत्रिएका छन भने अन्य उम्मेदवारहरू पहिलो प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन् । कांग्रेसका लामा पार्टीको मकवानपुर जिल्ला सभापति हुन् ।
अघिल्लो २०७९ को निर्वाचनमा सो क्षेत्रबाट एमालेका बर्तौला ३४ हजार ९१६ मत ल्याएर निर्वाचित भएका थिए भने तत्कालिक नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ३९६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ र राप्रपाका राजन मैनालीले दुई हजार १९४ मत प्राप्त गरेका थिए ।
अन्य दलबाट उम्मेदवार फेरिँदा एमालेले पुनः बर्तौलालाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ता गराएसँगै यतिबेला उम्मेदवारहरू आफ्ना ‘एजेन्डा’ बोकेर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । यो क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाको चारवटा वडासहित थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुर गाउँपालिकाको दुईवटा वडा पर्छन् ।
मकवानपुर क्षेत्र नम्बर २ मा ८२ हजार ३३३ पुरुष र ७४ हजार ५६६ महिला गरी एक लाख ५६ हजार ८९९ मतदाता छन् । सो क्षेत्रमा १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र रहेका छन् । भौगोलिक रूपमा विकट मानिएको यस क्षेत्रमा चेपाङ र तामाङ समुदायको बाहुल्यता छ ।
जनजाति बाहुल्य रहेको सो क्षेत्रमा जातीय मत आकर्षित गर्ने रणनीतिका साथ नेपाली कांग्रेसले लामालाई उम्मेदवार बनाएको देखिन्छ । थाहा नगरपालिकाको निवर्तमान नगरप्रमुख लवशेर बिष्टलाई नेकपाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ । कम्युनिष्ट पार्टीको गढ मानिने मकवानपुर क्षेत्र नम्बर २ मा कांग्रेस अहिलेसम्म प्रतिनिधि सभा निर्वाचनमा विजयी हुन सकेको छैन ।
यसपटक फरक परिस्थिति र समयमा प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले चुनाव आफूले जित्ने उम्मेदवारहरूले दाबी गर्दै आएका छन् । एमाले उम्मेदवार बर्तौलाले आफू तीन वर्षको छोटो कार्यकालमा जिल्लाको समग्र विकासका लागि थुप्रै योजना ल्याए, ती अधुरा योजनालाई पूरा गर्न मतदाताले यस पटक पनि आफूलाई विजयी बनाउने दाबी गर्छन्।
‘म जितेर गएपछि छोटो कार्यकालमा यहाँका सडक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत थुप्रै योजना ल्याए, ती योजनाहरू अझै सञ्चालनमा छ’, बर्तौलाले भने, ‘ती अधुरा योजनाहरू पूरा गर्नका लागि र थप विकासका लागि फेरि जनताले मलाई विजयी बनाउँछ, भन्नेमा म विश्वस्त छु ।’
जितेर गएपछि यहाँको विकास र मतदाताहरूकै बीचमा रहेर काम गरेकाले आफू जित्ने ढुक्क रहेको उनको भनाइ छ ।
मुलुकलाई संकटबाट जोगाउन, समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न पनि आफ्नो पार्टीलाई जिताउनुपर्ने उनले बताए। नेपाली कांग्रेसका उम्मेदवार लामाले आफू यसै क्षेत्रमा जन्मेको र निरन्तर यहाँको जनतासँग बसेर राजनीति र सामाजिक कार्य गर्दै आएकाले जित्ने दाबी गर्छन्।
‘म यसै क्षेत्रको स्थानीय हुँ, यहाँका जनताको दुःख र पीडाहरू राम्ररी बुझेको छु’, लामाले भने, ‘स्थानीय भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, पर्यटन विकासको एजेन्डासहित मतदाताको घरघरमा पुगिरहेको छु, जित्छु भन्नेमा ढुक्क छु ‘
सुकुम्वासीहरूको समस्या समाधान गर्ने, प्रमुख आयस्रोतका रूपमा भइरहेको गाँजाखेतीलाई वैधानिकता दिलाउने र इन्द्रसरोवरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने एजेन्डालाई प्राथमिकताका साथ अघि बढेको उनको भनाइ छ ।
यस क्षेत्रमा पर्ने अधिकांश पालिकाहरूमा आफ्नो पार्टीको नेतृत्व रहेको र पार्टीको आन्तरिक समस्या हल भई नयाँ नेतृत्वका साथ पार्टीका नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर निर्वाचनमा होमिएकाले चुनाव जित्ने बलियो आधार बनेको उनको कथन छ ।
नेकपाका उम्मेदवार बिष्टले आफू थाहा नगरपालिकाको प्रमुख भएका बेला नगर क्षेत्रभित्र गरेको लोभलाग्दो विकास, सुशासन र पारदर्शिता प्रवर्द्धनमा खेलेको भूमिकालाई सबैले देखेकाले मतदाताले मत दिनेमा विश्वास्त रहेको दाबी गर्छन्।
‘म नगरप्रमुख भएका बेला सबै पक्षलाई समेटिएर नगर क्षेत्रभित्र लोभलाग्दो उदारहरणीय कामहरू गरेको छु, कुनै कसैलाई काखापाखा नगरी काम गरेको छु, त्यसैले यस पटक मतदाताले मलाई भोट दिएर प्रतिनिधि सभामा पठाउँछ’, नेकपाका उम्मेदवार बिष्टले भने, ‘यस क्षेत्रमा पार्टी सङ्गठनको पनि मजबुत अवस्था, मैले गरेको काम र पार्टीप्रति पछिल्लो समय बढेको आकर्षणलगायतका कारणले म चुनाव जित्छु ।’
सहिदको बलिदानीबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्नु प्रमुख आवश्यकता भएकाले मतदाताहरू सचेत भई आफ्नो पार्टीलाई मत दिने उनको कथन छ ।
यो क्षेत्रमा पार्टीको सङ्गठित आधार बलियो नभए पनि पुराना पार्टी र पुराना नेताहरूबाट आम नागरिक हैरान भइसकेको अवस्थामा अहिलेको अवस्थामा मतदाताले परिवर्तन र नयाँ अनुहार, युवा अनुहार खोजिरहेकाले यस पटक आफूले जित्ने रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती बताउँछन् ।
‘हाम्रो पार्टी जेनजी आन्दोलनको म्यान्डेडअनुसार मुलुकमा सुशासन, समुन्नति र समृद्धिको एजेन्डा लिएर चुनावी मैदानमा होमिएको छ’, उप्रेतीले भने, ‘अहिले पार्टीको एजेन्डासहित जनमुखी नीति र स्थानीय विकासका एजेन्डाहरू बोकेर मतदाताहरूको बीचमा पुगिरहेको छु, मतदाता आकर्षण बढेको छ, त्यसैले मत दिन्छ, चुनाव जित्छु ।’
