एजेन्सी । फरवार्ड इर्लिङ ब्राउट हालान्डले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ । आइतबार राति भएको खेलमा सिटीले १० खेलाडीमा समेटिएको लिभरपुललाई २-१ गोलले पराजित गरेको हो ।
एनफिल्डमा भएको खेलमा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र हालान्डले समान एक/एक गोल गरे । लिभरपुलको लागि डोमिनिक स्जोबोस्ज्लाईले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औँ मिनेटमा स्जोबोस्ज्लाईले फ्रि-किकमा गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए ।
८४ औँ मिनेटमा हालान्डको पासमा सिल्भाले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । इन्जुरी समयमा गोलरक्षक एलिसनले नुनेजलाई फल गरेपछि पाएको पेनाल्टीमा हालान्डले गोल गर्दै सिटीलाई जित नजिक पुर्याएका थिए ।
इन्जुरी समयको १३ औँ मिनेटमा फल गरेपछि लिभरपुलका स्जोबोस्ज्लाई सिधैं रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोल नहुँदा सिटी २-१ गोलले विजयी भएको हो ।
जितसँगै सिटी २५ खेलबाट ५० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट ३९ अंक जोडेको लिभरपुल छैटौँ स्थानमा रहेको छ ।
