तेहरान । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ । वकिल मुस्तफा निलीले भने, ‘सरकारविरोधी प्रदशैनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।’
‘मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र उहाँलाई दुई वर्षको लागि दक्षिण खोरासानको पूर्वी प्रान्तको खोस्फ शहरमा जानबाट प्रतिबन्ध लगाइएको छ,’ उनको वकिलले भने ।
इरानी कानुनअनुसार जेल सजाय र यो प्रतिबनध सँगै लागू हुनेछन् । निलीले मोहम्मदीको स्वास्थ्य समस्याका कारण उनलाई अस्थायी रूपमा ‘उपचार प्राप्त गर्न जमानतमा रिहाइ’ गर्न सकिने आशा व्यक्त गरे । उनले जारी गरिएको फैसला अन्तिम नभएको र पुनरावेदन गर्न सकिने बताए ।
विगत २५ वर्षमा ५३ वर्षीया मोहम्मदीलाई इरानको मृत्युदण्डको प्रयोग र महिलाहरूको लागि अनिवार्य ड्रेस कोडको विरुद्ध मुखर अभियान चलाएको आरोपमा बारम्बार मुद्दा चलाइएको छ र पटक–पटक जेल चलान गरिएको छ ।
मोहम्मदीले पछिल्लो दशकको अधिकांश समय जेलमा बिताएकी छन् । उनले सन् २०१५ देखि पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा बच्चाहरूलाई भेट्न पनि पाएकी छैनन् ।
