टी-२० विश्वकपमा नेपाल इंग्ल्याण्डसँग पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाल पराजित भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको हो ।

जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितको लागि १० रन चाहिएको अवस्थामा नेपालले मात्र पाँच रन बनाउँदा पराजित हुन पुगेको हो । नेपालको लागि दीपेन्द्र सिंह एरीले २९ बलमा ६ चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । अन्त्यमा लोकेश बमले २० बलमा ४ चौका र २ छक्काको मद्दतमा नटआउट ३९ रन बनाएपनि टोलीलाई जित दिलाउन पर्याप्त बनेन ।

यस्तै कप्तान रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९, आरिफ शेखले १०, आसिफ शेखले ७ तथा गुलसन झा र करण केसीले समान एक/एक रन बनाए ।

इंग्ल्याण्डको लागि लियम डाव्सनले दुई विकेट लिँदा लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र साम कुरानले समान एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।

इंग्ल्याण्डको लागि कप्तान ह्यारी ब्रुक र जाकोब बेथेलले अर्धसतक बनाए । बेथेलले ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाउँदा ब्रुकले ५३ रन बनाए । उनले ३२ बलमा ४ चौका र तीन छक्का प्रहार गरे । यस्तै विल ज्याक्सले अन्तिममा विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ३९ रन बनाउँदा जस बटलरले २६ रन बनाए ।

नेपालको लागि दीपेन्द्र सिंह एरीले ३ ओभरमा २३ रन दिएर दुई विकेट लिए । यस्तै नन्दन यादवलेपनि ३ ओभरमा २५ रन दिएरदुई विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

जितसँगै इंग्ल्याण्ड दुई अंक जोड्दै समूह ‘सी’को दोस्रो स्थानमा रहेको छ । अंकविहीन नेपाल तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *