क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त सरकारद्वारा मे २९ लाई ‘नेपाल हेरिटेज डे’ को मान्यता

काठमाडौँ । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त सरकारले मे महिनाको २९ तारिखलाई ‘नेपाल हेरिटेज डे’ को मान्यता दिएको छ ।

तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलारीले सगरमाथा आरोहण गरेको दिन मे २९ तारिखलाई क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त सरकारले ‘नेपाल हेरिटेज डे’को मान्यता दिएको हो ।

लेफ्टिनेन्ट गभर्नर वेन्डी कोकियाद्वारा जारी घोषणामा नेपाली समुदायले प्रान्तको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको छ ।

घोषणामा ब्रिटिश कोलम्बियालाई सांस्कृतिक, जातीय, नस्लीय र धार्मिक रूपमा विविध प्रान्तका रूपमा उल्लेख गर्दै नेपाली मूलका नागरिकहरूले यस विविधतालाई अझ समृद्ध बनाएको जनाइएको छ ।

साथै मे २९ को ऐतिहासिक महत्वलाई स्मरण गराउँदै सन् १९५३ मा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले सर एडमन्ड हिलारीसँगै सगरमाथाको पहिलो सफल आरोहण गरेको घटनालाई साहस, एकता र हिमाली विरासतको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

यसले नेपाली मूलका समुदायको समृद्ध संस्कृति र इतिहासबारे बुझ्ने अवसर प्रदान गर्नुका साथै उनीहरूले ब्रिटिश कोलम्बियामा पुर्याएका योगदानलाई सम्मान र उत्सवका रूपमा मनाउने उद्देश्य राखेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *