राष्ट्रको आयु वर्षले होइन, चेतन युवाले मापन हुन्छ

-डा. रामकृष्ण तिमल्सेना

काल त्रिविध छ–भूत, वर्तमान र भविष्य । शास्त्रले भन्छन्, ‘कालः कर्मफलप्रदाता’ समय स्वयं फल दिने शक्ति हो। तर समय अन्धो होइन, उसले फल दिन्छ वर्तमानमा गरिएका कर्मका आधारमा । त्यसैले भूतकाल बोझ होइन, पाठ हो, भविष्य भय होइन, सम्भावना हो, र वर्तमान केवल क्षण होइन, कर्तव्य हो।

भूतकाल फोहोर कागजजस्तै हो, यदि त्यसबाट शिक्षा लिइएन भने । वर्तमान समाचारपत्रजस्तै हो, हरेक बिहान नयाँ अवसर बोकेर आउने। भविष्य प्रश्नपत्रजस्तै हो, जसका उत्तर आजको परिश्रमले मात्र लेख्न सकिन्छ। यदि युवाले वर्तमानको मूल्य बुझेनन् भने राष्ट्रको इतिहास, वर्तमान र भविष्य–सबै टिस्यु पेपरमा परिणत हुन्छन्। यो कुनै कवितात्मक अतिशयोक्ति होइन, यो राष्ट्रिय यथार्थ हो।

युवापुस्ताको सबैभन्दा ठूलो शत्रु आलस्य होइन, चेतनाको अभाव हो। हिजोको गौरवमा लिप्त भएर आज जिम्मेवारीबाट भाग्नु पनि पतन हो, र भोलिको सपनामा हराएर आज कर्म नगर्नु पनि पतन हो। गीता स्पष्ट भन्छ’कर्मण्येवाधिकारस्ते’अधिकार कर्ममा छ, परिणाममा होइन। यो श्लोक व्यक्तिगत मुक्ति मात्र होइन, राष्ट्रिय उत्थानको मन्त्र पनि हो ।

राष्ट्र चेतना नारा होइन, आचरण हो। युवाले आज पढ्ने तर नसोच्ने, बोल्ने तर नबुझ्ने, आक्रोश गर्ने तर निर्माण नगर्ने हो भने भोलिको राष्ट्र खोक्रो हुनेछ। समय कसैको प्रतीक्षा गर्दैन। समय त साक्षी हो, उसले देख्छ को वर्तमानमा बाँच्छ र को केवल गुनासोमा बाँच्छ । भूतकाललाई दोष दिएर वर्तमान बिगार्ने राष्ट्र कहिल्यै उभिन सक्दैन। भविष्यको नाममा आश्वासन बेच्ने तर आज श्रम नगर्ने समाज पतनतर्फ नै जान्छ। राष्ट्र निर्माणको आधार न त केवल नीति हो, न त केवल प्रवचन यो त वर्तमानमा जागृत युवाको कर्मयोग हो।

पछुतोले इतिहास खेर जान्छ, डरले सम्भावना खेर जान्छ, तर विवेकले वर्तमान बचाउँछ। विवेकयुक्त युवा नै राष्ट्रको मेरुदण्ड हुन्। जब युवा वर्तमानमा अनुशासित हुन्छन्, तब इतिहास सुध्रिन्छ र भविष्य सुरक्षित हुन्छ।
आजको युवा पुस्तालाई शास्त्रले यही सन्देश दिन्छ। हिजोलाई सम्मान गर, तर पूजा नगर । भोलिलाई कल्पना गर, तर पलायन नहोउ । आजलाई साधना बनाऊ । किनकी आजलाई ठीकसँग प्रयोग गरियो भने इतिहास गौरव बन्छ र भविष्य उज्यालो। आजलाइ उपेक्षा गरियो भने राष्ट्रका सबै कागजहरू टिस्यु पेपर सरह च्यातिन्छन् । अन्ततः राष्ट्रको आयु वर्षले होइन, चेतन युवाले मापन हुन्छ। वर्तमानमा जागृत युवा नै भोलिको उत्तर लेख्ने परीक्षार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *