काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध तीन विकेटको जित निकालेको छ ।
शनिबार श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो । पाकिस्तानको जितमा ओपनर साहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।
अर्का ओपनर सैम अयुबले १३ बलमा चार चौका र एक छक्कासहित २४ रन थपे । बाबर आजमले १५ र कप्तान सलमान अली आघाले १२ रन जोडे ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । आजदेखि सुरु प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन् ।
