बीबीसी । ‘जब तपाईँ माथि अन्तरिक्षबाट तल पृथ्वीतिर हेर्नुहुन्छ वादविवाद र लडाइँ झगडा जस्ता कार्य विचित्र लाग्छ।’ नासाको करिअरमा तीन दशकजति बिताएकी अन्तरिक्षयात्री सुनिता “सुनि” विलियम्समा अन्तरिक्षबाट देखिने दृश्यले गहिरो छाप पारेको छ। त्यसैका आधारमा उनले मानवता, प्रविधि र आफ्नो घरबारे विशेष दृष्टिकोण बनाएकी छन्।
अहिले ६० वर्षकी सुनिताले इन्टरन्याश्नल स्पेस स्टेशनमा विभिन्न मिसनमा ६०० दिनभन्दा बढी समय बिताएकी छन् र सबभन्दा बढी ‘स्पेशवाक’ गर्ने महिलाको कीर्तिमान बनाएकी छन्। उनी भन्छिन्, ‘अन्तरिक्षबाट हेर्दा देशदेशबीचका सीमा र द्वन्द्वहरू महत्त्वहीन लाग्छन्।’ ‘जब माथिबाट हाम्रो ग्रह पृथ्वीतर्फ हेर्छौँ तब महसुस हुन्छ कि हामी सबजना एउटै जमिनमा एक साथ छौँ,’ उनले भनिन् । ‘पानी उही, हावा उही र उही जमिन।’
त्यसले समानुभुतिको महत्वलाई बलियो बनाउने विलियम्स बताउँछिन्। ‘शायद हामीले एक क्षण लिएर कुनै प्राकृतिक स्थानमा जानुपर्छ र एक अर्काको कुरा सुन्नुपर्छ किनभने शायद हरेक व्यक्तिको कुनै न कुनै असल दृष्टिकोण हुन्छ जस्तो मलाई लाग्छ।’
लम्बिएको अन्तरिक्ष मिसन
नासामा २७ वर्ष काम गरेपछि गत डिसेम्बरमा अवकाश लिएकी उनले आफूलाई अन्तरिक्ष मिसनहरू मात्र नभएर आफ्ना अद्भुत सहकर्मीको पनि विशेष याद आउने गरेको बताइन्। ‘म ती अद्भुत मानिसहरूबारे सोच्ने गर्छु जसले मलाई मार्गदर्शन गरेका छन्, मेन्टरशिप गरेका छन् र मलाई त्यो स्थितिसम्म पुर्याएका छन्,’ उनी भन्छिन्।
उनको अन्तिम अन्तरिक्ष उडान केही दिनका लागि तय गरिएको थियो तर बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आएको प्राविधिक समस्याका कारण नौ महिनाभन्दा बढी समयसम्म उनी आईएसएसमा बस्नु पर्यो।उनले त्यसलाई सहजतासाथ लिइन् र भनिन् उनलाई अन्तरिक्षमा बस्न मन पर्छ। ‘मलाई त्यहाँ आफूलाई असाध्यै मन पर्ने धेरै कुरा गर्ने मौका मिल्यो, झ्यालबाट बाहिर हेरेर जर्नल लेख्ने, विभिन्न वैज्ञानिक परीक्षणहरू गर्ने। यो एउटा असाध्यै राम्रो प्रयोगशाला हो ।’
उनको दिन वैज्ञानिक प्रयोग रोबोटिक आर्म तालिम उपकरण मरम्मत र ग्राउन्ड टीमसँग दैनिक कन्फरेन्स र दैनिक व्यायामले भरिएको हुन्थ्यो। ‘हरेक दिन फरक हुन्छ र त्यसले असाध्यै रमाइलो पनि बनाउँछ,’ उनी भन्छिन्। तर भावनात्मक रूपमा लामो समय त्यहाँ बस्नु सजिलो थिएन। उनले आफ्नो परिवार र आफ्नी ८० वर्षकी आमासँग फर्केपछि गर्ने विभिन्न योजना बनाएकी थिइन्।
‘मलाई समय नष्ट भइरहेको जस्तो पनि लागेको थियो किनभने म उनीहरूसँग थिइनँ र म खासगरी आफ्ना भतिज भतिजीसँग धेरै काम गर्न पाइरहेकी थिइनँ,’ उनले भनिन्। तर उनले परिवारको समर्थनले उनलाई बलियो बनाइरहेको बताइन्। ‘उनीहरूले मलाई भने, ‘जाऊ माथि, रमाइलो गर हामीलाई पनि आफ्नो साथमा लैजाऊ र कुनै समय सुरक्षित अन्तरिक्ष यानबाट फर्केर आऊ।’ त्यसले मलाई निकै आश्वस्त बनायो।
परिवर्तन भइरहेको भारतमा ‘घर फर्किनु’
भारत साइनो रहेकी विलियम्स हालै भारत भ्रमणमा आएकी थिइन्। उनी भारत नआएको एक दशकभन्दा लामो समय भइसकेको थियो। यस पटक उनी केरला लिटरेचर फेस्टिभल कोझीकोडेमा सहभागी हुन आएकी थिइन्। दिल्ली र केरला भ्रमणका बेला उनले विद्यार्थी वैज्ञानिकहरू तथा फेस्टिभलका स्रोताहरूलाई भेटिन् र उनको करिअरमा आइलागेको अप्रत्यासित अन्तिम मोडबारे कुराकानी गरिन्। भारतको हरेक यात्रा पहिलेको यात्रा भन्दा निकै भिन्न महसुस हुने गरेको उनले बताइन्। यो पटक भारतको विज्ञान र अन्वेषणबारे बढ्दो महत्त्वाकाङ्क्षाले प्रभावित गरेको पनि उनले बताइन्।
उनी भन्छिन्, ‘मानिसहरू प्रविधिको क्षेत्रमा सबै प्रकारको चुनौतीको सामना गर्न तयार छन् र त्यसमा अन्तरिक्ष क्षेत्र पनि सामेल छ।’ भारतसँग उनको सम्बन्ध अत्यन्त व्यक्तिगत हो- उनको पैतृक गाउँ झुलासन, गुजरातका स्थानीय बासिन्दाले सुनिताको उपलब्धिलाई आफ्नै जस्तो गरी मनाउँदै आएका छन्। उनले भनिन्, ‘यसले मलाई निकै भावुक बनाउँछ। म मेरा पिता र परिवारका साथ गाउँ गएकी छु। जसले गर्दा यो गाउँ मेरो हृदयको नजिक छ। मैले त्यहाँका मानिस चिनेकी छु।’
एआई, अन्वेषण र भारतको क्षमता
विलियम्स एआईलाई विज्ञान र अन्तरिक्ष मिसनमा एक शक्तिशाली तर सीमा सहितको औजारका रूपमा लिन्छिन् । ‘एआईले तथ्याङ्कलाई निकै द्रुत गतिमा केलाउन र सूचना पत्ता लगाउन सक्छ’ उनी भन्छिन्, ‘रोबोटले दोहोर्याइरहनुपर्ने काम गर्न सक्छन् र मानिसहरू निर्णय गर्ने कार्यमा केन्द्रित हुन सक्छन्।’ ‘यो नै सम्पूर्ण कुरा होइन। यो त हामीलाई थप अन्वेषण गर्न सघाउने औजार मात्र हो।’
उनी भन्छिन् – ‘भारतका लागि कल्पना नै सीमा हो। भारतमा मानव शक्ति छ र यहाँ धेरै मस्तिष्क छन् जसले अदभूत काम गर्न सक्छन्।’ उनी भन्छिन्, ‘अन्तरिक्षमा जाने जागिर गर्ने सोचेकै थिइनँ।’ र उनको जीवनको अबको चरणमा यात्रा. परिवार र नयाँ चुनौतीहरू छन्। उनी भारतका अन्य भाग पनि घुम्न चाहन्छिन्, केरलाका समुन्द्र तटदेखि लद्दाखको पहाडसम्म। उनले भनिन्, ‘म हिमाल मन पराउने व्यक्ति हुँ कुनै न कुनै समय मिलाएर मलाई त्यहाँ जानु छ ।’ अन्तरिक्षले उनलाई के सिकायो भन्नेबारे सोच्दै उनले भनिन्, ‘धैर्य राख। र एक अर्कालाई सुन।’
दिव्या उपाल
बीबीसी न्यूज इन्डिया
