काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्नेलगायतका निर्णय गरेको हो ।
बैठकले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या /भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने, निर्वाचनसम्बन्धी सही, भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पुर्याउने, सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको AI and Advance Analytic Cell लाई सशक्त र जिम्मेवार बनाउने, निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद विक्री एवम् दुरूपयोगलाई नियन्त्रण गर्ने विषयमा निर्णय गरेको छ ।
बैठकले निर्वाचनमा सुरक्षाकर्मीको परिचालन तथा उम्मेदवारको सुरक्षा व्यवस्थापन लगायतका विषयमा पनि निर्णय गरेको छ ।

