बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी हितविपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको ठहर गर्दै काराखेतीलाई कारबाही गरिएको हो ।
प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति जारी गरी काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लङ्घन गरेको पुष्टि भएपछि निष्कासन गरिएको जनाएका छन् ।
उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित रूपमा रकम माग गरेको, साथै आफ्नी श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएपछि पार्टीले कारबाहीको निर्णय गरेको प्रलोपाले जनाएको छ ।
काराखेती निष्कासित भएपछि रुपन्देही–३ मा प्रलोपा को आधिकारिक उम्मेदवार नरहने भएकाले अब कसलाई समर्थन गर्ने भन्ने विषयमा पार्टीको बैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए ।

