काठमाडौं । नेपाल चिकित्सक संघले टुथपेस्टलगायत दैनिक प्रयोगमा आउने सामग्रीहरूमा स्वास्थ्यका लागि हानिकारक सिसाको मात्रा अत्यधिक पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गरी संघले टुथपेस्टलगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित अन्य विभिन्न सौन्दर्य सामग्रीहरूमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक सिसाको मात्रा अत्यधिक रहेको भेटिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड) द्वारा हालसालै सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार दैनिक प्रयोगमा आउने टुथपेस्टलगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित अन्य विभिन्न सौन्दर्य सामग्रीहरूमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको सिसा (Lead) को मात्रा अत्यधिक रहेको भेटिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विभिन्न स्थानबाट गरिएको नमुना संकलनको परीक्षणमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिनु गम्भीर विषय भएको संघले जनाएको छ । संघले आम नागरिकको स्वास्थ्यमाथि गम्भीर असर पुर्याउने यस्ता सामाग्रीहरूको गुणस्तर मापन गर्नुका साथै कडा नियमन गर्न सरकारसँग माग गरेको छ ।

