पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् ।
शुक्रबार कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजना फैलाउनेभन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले यो गर्ने तागत कांग्रेसले राख्नुपर्ने बताए । उनले भने, ‘हामीलाई अहिले देश सम्हाल्ने शक्ति चाहिएको छ । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ ।’
उनले भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएर आएको नेपाली कांग्रेसले भ्रष्टाचारको आहालबाट मुलुकलाई बाहिर निकाल्ने बताए । सभापति थापाले नागरिकलाई राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास रहेकाले कांग्रेसले आत्मविश्वास दिलाउने संकल्प गर्नुपर्ने बताए ।
उनले भने, ‘सबैभन्दा ठूलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भ्रष्टाचार भन्छ । समाजमा भित्रभित्र आगो बलिरहेको छ । यो बेला कांग्रेसले नै सम्हाल्नुपर्ने हुन्छ ।’
सभापति थापाले ‘अबकी बार सय पार’ को नारा लगाएर चुनावी अभियानमा खट्न पार्टीपंक्तिलाई निर्देशन दिए । उनले संगठनको तागतले मज्जाले बहुमत ल्याउन सकिने भन्दै मतदाताको घरघर जान आग्रह गरे । उनले यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य नहुने बताए ।
सभापति थापाले कुनै दलसँग चुनावी गठबन्धन नहुने भएकाले भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य हुँदैन । अब की बार यो सरकार भन्ने नारा लाउन छोडिदिनुस् । अब की बार सय पार भन्ने नारा लाउनुस् । बहुमतसम्म पुग्न सकिन्छ ।’
