रास्वपाले भन्यो-रौतहट घटनाको वस्तुनिष्ठ छानबिनका लागि प्रशासनलाई पूर्ण सहयोग गर्छौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहटमा पार्टीका उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ ।

शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं।’

उनले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशनसमेत दिएका छन् ।

बिहीबार रौतहटमा रास्वपाका उम्मेदवार शेख सगिरको प्रचारमा प्रयोग भएको गाडीको ठक्करबाट इशनाथ नगरपालिका २ मटिया टोलमा स्थानीय मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको थियो । घटनापछि चालक फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *