बैतडी बस दुर्घटनाका घाइतेको उचित उपचारका लागि सरकारसँग सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको बताए ।

उनले पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारजनमा पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।
सभापति थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार जन्ती बोकेको बस दुर्घटना भएको थियो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *