काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले शानदार जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० गोलले हराउँदै चर्च ब्वाइजले लिगमा तेस्रो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन रिकार्ड कोफी, अबायोमी फकुन्ले र मनोज राईले समान एक/एक गोल गरे । चर्च ब्वाइजले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो ।
जितसँगै चर्च ब्वाइज ४ खेलबाट १० अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा यथावत रहेको छ भने समान खेलबाट ४ अंक जोडेको पुलिस १४ औँ स्थानमा झरेको छ ।
