काठमाडौँ । प्राइमरी इलेक्सनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा भाँडभैलो भएको छ । प्राइमरी इलेक्सन नै नगरी उम्मेदवार चयन गरेको भन्दै रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी छाडेका छन् ।
उनले पार्टीले तय गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएको कारण पार्टी परित्याग गर्नुपर्ने अवस्था आएको बताएका छन् । रुपन्देही–१ बाट कुल ६ जना उम्मेदवार सिफारिस भएका थिए । तर, प्राइमरी इलेक्नस नगरी पार्टीले सुनिल लम्साललाई प्रत्यक्ष उम्मेदवार बनाएको थियो।
लम्साल रास्वपाका वरिष्ठ नेता बालेन साहको मेयर कार्यकालमा सल्लाहकारको रूपमा कार्यरत व्यक्ति हुन् । उनले प्राइमरी इलेक्सन नगरी उम्मेदवार चयनप्रति आफ्नो असहमति रहेकाले पार्टी छाडेको बताएका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारका आकांक्षी प्रणय राणाले पनि प्राइमरी चुनावको नाममा पार्टीले उठाएको २५ हजार रुपैयाँ फिर्ता मागेका छन् ।
सामाजिक संजालमार्फत राणाले पारदर्शिता, सुशासन, अनि अन्तरिक लोकतन्त्र नारामा मात्र सीमित भएको भन्दै उनले चुनावका नाममा पार्टीले उठाएको रकम फिर्ता मागेका हुन् । रास्वपाले उम्मेदवारका आकांक्षीहरूसँग २५ हजार रुपैयाँका दरले रकम उठाएको थियो । त्यस्तै समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीसँग ५० हजार रकम शुल्क तोकेको थियो ।
राणाले भनेका छन्,‘प्राइमरी प्रक्रियाको लागि भनि आकांक्षीहरुसँग ठगी गरि उठाएको पैसा कहिले फिर्ता गर्ने ? पारदर्शिता, सुशासन, अनि अन्तरिक लोकतन्त्र नारामा मात्र ? रास्वपाका प्रत्यक्षतर्फका सबै उम्मेदवार निर्वाचन आयोगको कानून अनुसार अबैध हुन सक्छन् । रास्वपाको प्राइमरी इलेक्सनमा भोटिङ नै फाइनल हुन पर्छ भनि ५० प्रतिशत अतिरिक्त नम्बरको चलखेल हटाउन धेरै कोशिस गर्दा पनि सकिएन । किनकी धेरै पूर्वसांसदहरुलाई नै आफू यस प्रकियाबाट हारिन्छ कि भन्ने डर थियो ।’
