अपहरण गरी बन्धक बनाएर फिरौती माग्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–८ भङ्गालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली देश पठाइदिने भनी बङ्गलादेशी नागरिकलाई बङ्गलादेशबाट काठमाडौँ बोलाइ बन्धक बनाइ ठगी गर्ने सात जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बङ्गलादेश घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोज कुमार र नुवाकोटका ३२ वर्षीय शशि पाठक छन् ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बङ्गलादेशी नागरिकलाई घरमा बन्धक बनाइ ठगी गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई जिल्ला अदालत काठमाडौँबाट शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *