ओलीप्रति गालीगलौज तथा अमर्यादित शब्द प्रयोग गरिएका प्रसारण सामग्री हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालको दुरूपयोग गरी प्रसारण गरिएका सामग्री हटाउन माग गरेको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष ओली, दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गैर–जिम्मेवार र गैर–राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ। विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले)को गम्भीर ध्यानाकर्षण भएको छ।’

एमालेको निर्वाचन चिन्ह परिवर्तन लगायतका भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने उनले चेतावनी दिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *