टर्कीमा इरान–अमेरिका वार्ताको तयारी, वार्ता न्यूक्लियर मुद्दामा केन्द्रित हुने

दुबई ।  इरान र अमेरिकाबीच ‘निष्पक्ष र समान’ वार्ता अगाडि बढाउने तयारी टर्कीमा तीव्र बनेको छ। इरानका राष्ट्रपति मासउद पेजेश्कियनले विदेशमन्त्रीलाई अमेरिकासँग कूटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका छन्।

यसैबीच, क्षेत्रीय तनाव बढेको संकेत पनि देखिएको छ। अमेरिकी नौसेनाले आफ्नो विमानवाहक पोत नजिक उडेको एक इरानी ड्रोनमाथि आक्रमण गरेको जनाएको छ। त्यस्तै, इरानी क्रान्तिकारी गार्डका तीव्रगतिका डुङ्गाहरूले ‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकी झण्डा बोकेको जहाजलाई रोक्ने प्रयास गरेका थिए।

अमेरिकी व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक उपायमा विश्वास गर्ने तर सफल वार्ताका लागि दुवै पक्ष तयार हुनुपर्ने बताए। अमेरिकी विशेष दूत स्टिभ विटकफ यसै साता टर्कीमा इरानी अधिकारीसँग भेटवार्ता गर्ने तयारीमा रहेको जनाइएको छ।

इरानी राष्ट्रपति पेजेश्कियनको कदमलाई सर्वोच्च नेता आयतुल्लाह अली खमेनीको समर्थन रहेको संकेतका रूपमा हेरिएको छ। टर्कीएले वार्ता आयोजना गर्न पहल गरिरहेको छ भने ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरूलाई पनि सहभागी हुन आमन्त्रण गरिएको छ।

न्यूक्लियर मुद्दामा केन्द्रित वार्ता

आगामी वार्ता मुख्यतः इरानको न्यूक्लियर कार्यक्रमका विषयमा केन्द्रित रहने बताइएको छ। इरानी सल्लाहकार एली शामखानीले ‘इरानले परमाणु हतियार कहिल्यै नचाहेको’ स्पष्ट पार्दै त्यसको बदलामा अन्य पक्षले पनि प्रतिवद्धता पूरा गर्नुपर्ने धारणा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *