सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

सङ्खुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो ।

एक कार्यक्रमकाबीच अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थु्र’ गरेका हुन् । यो निजी क्षेत्रले पहिचान गरी अघि बढाएको आयोजनाको हो । सभापोखरी–३ मा इन्टेक एरिया रहेको आयोजनाको चार हजार ११० मिटर सुरुङ छिचोलिएको छ ।

सभापोखरी गाउँपालिका वडा नं ३, ४ र ५ मा आयोजनाको काम भइरहेको छ । जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको चार हजार ११० मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको आयोजनाका इञ्चार्ज कृष्णप्रसाद पन्तले बताए ।

अब सुरुङको बाँकी कङ्क्रिट लाइनिङको काम गरिने र मुख्य सुरुङबाट गएको पानीलाई एक हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत गृहमा खसाली विद्युत् उत्पादन गरिने उनले बताए । हालसम्म आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।

उक्त आयोजनाबाट उत्पादन भएको विद्युत् खाँदबारी नगरपालिका–१० सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । २०७९ कात्तिक २३ देखि सुरु भएको उक्त आयोजना आगामी वैशाख २३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाका इन्चार्ज पन्तका अनुसार आयोजनाअन्तर्गत प्रसारण लाइनको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म स्थानीयलाई रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र बेलिब्रिज पुल निर्माण लगायतका काम भइरहेका छन् । करिब पाँच अर्ब रुपैयाँ लागत रहेको आयोजनाको मुख्य निर्माण कम्पनी बैभव पावर नेपाल प्रालिले काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *