टी-२० विश्वकपको अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । मंगलबार बेलुकी सम्पन्न खेलमा नेपालले युएईलाई सात विकेटले हराएको हो ।

जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा तीन विकेटको क्षतिमा १ सय ४८ रन बनाउँदै जित निकालेको हो । नेपाललाई जित दिलाउन आरिफ शेख र दीपेन्द्र सिंह एरीले अर्शसतक बनाए । ६.५ ओभरमा ४५ रन बनाउँदा तीन विकेट गुमाएको नेपालको लागि दीपेन्द्र सिंह एरी र आरिफ शेखले सतकीय साझेदारी गर्दै जिततर्फ डोर्याएका हुन् ।

आरिफ शेखले ३७ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६१ रन बनाउँदा दीपेन्द्र सिंहले ५० रन बनाए । उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले १६ तथा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले समान आठ/आठ रन बनाए ।

युएईको लागि मुहम्मद रोहिदले एक विकेट लिए ।

यसअघि  चेन्नईको एमए चिदाम्बरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो  । युएईको लागि सोहाइब खानले सर्वाधिक ३८ रन बनाए । उनले २७ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै हर्षित कौशिकले ३५, अर्यांश शर्माले २५, मुहम्मद जोहैबले १९ र आलिशान शराफुले १२ रन बनाए ।

नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिँदा दीपेन्द्र सिंह एरीले एक विकेट लिए । अब नेपालले  दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *