हलेसी दर्शन गरेर फर्कने क्रममा सुमो दुर्घटना हुँदा भुटानी नागरिकसहित तीन घाइते

खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा आज सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा ना१ज ८७८१ नम्बरको सुमो अनियन्त्रित भई सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय कार्दुङ, डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

सुमो केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौँतर्फ जाँदै गरेको थियो । मध्यपहाडी लोकमार्गअन्तर्गत सडकखण्डमा पर्ने विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर काठमाडौँ फर्कनेक्रममा सुमो दुर्घटनामा परेको हो । सुमोमा सात यात्रु सवार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *