काठमाडौं । आईसीसी टी-२० विश्वकपको पूर्वसन्ध्यामा हुने अभ्यास खेलमा आज नेपाल चिरप्रतिद्वन्द्वी युएईसँग खेल्दैछ । चेन्नईमा हुने खेल बेलुकी ५:१५ बजे शुरू हुनेछ ।
दुवै टोली विश्वकप अगाडि हुने अभ्यास खेलमा जित निकाल्दै विश्वकपको अन्तिम तयारी गर्ने लक्ष्यमा रहेका छन् । श्रीलंकामा पहिलो चरण र मुम्बईमा दोस्रो चरणको अभ्यासपछि नेपाल चेन्नई पुगेको थियो । नेपालले मुम्बईमा भएको दुवै अभ्यास खेलमा एमसिए ११ लाई हराएको थियो ।
आजपनि नेपाल सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । विश्वकप अगाडि सबै टोलीले दुई आधिकारिक अभ्यास खेल खेल्नेछन् । नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ ।
तेस्रोपटक विश्वकप खेल्ने तयारीमा रहेको नेपालले अभ्यास खेलमा हालसम्म टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने मौका पाएको छैन । तर युएई नेपालको लागि कठिन प्रतिद्वन्द्वी रहँदै आएको छ । हालसम्म नेपालले टी-२० विश्वकप अन्तर्गतका तीन वटा वार्मअप खेल खेलेको छ । जसमा नेपालले एक खेल जित्दा युएईले दुई खेल जितेको छ ।
सन् २०१३ मा नेपालले टी-२० विश्वकप छनोट अगाडि भएको अभ्यास खेलमा नेपालले युएईलाई पाँच विकेटले हराएको थियो । एक वर्षपछि भएको टी-२० विश्वकपको अभ्यास खेलमा युएईले ६ विकेटको जित हासिल गरेको थियो । यस्तै सन् २०१५ मा भएको टी-२० विश्वकप छनोटको अभ्यास खेलमापनि युएईले नेपाललाई डकवर्थ लुइस पद्दतिको आधारमा २० रनले हराएको थियो ।
समूह’सी’मा रहेको नेपालले ८ फेब्रअरीमा इंग्ल्याण्डसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । नेपालले दोस्रो खेल १२ फेब्रुअरीमा इटाली, तेस्रो खेल १५ फेब्रअरीमा वेस्ट इन्डिज र चौथो खेल १७ फेब्रुअरीमा स्कटल्याण्डसँग खेल्नेछ ।
