एपस्टिन प्रकरणमा बयान दिन क्लिन्टन दम्पती सहमत

वाशिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी अनुसन्धानमा बयान दिन सहमति जनाएका छन् ।

हाउस ओभरसाइट कमिटीसमक्ष उपस्थित हुन अस्वीकार गरेको आरोपमा क्लिन्टन दम्पतीलाई आपराधिक अवहेलनामा राख्ने कि नराख्ने भन्ने विषयमा मतदान हुनै लागेका बेला यो सहमति आएको हो ।

बिल क्लिन्टन एपस्टिनसँग परिचित भए पनि उनका यौन अपराधबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका छन्। एपस्टिन २०१९ मा जेलमै मृत फेला परेका थिए ।

बयान कहिले लिइने भन्ने अझै स्पष्ट छैन। सन् १९८३ मा जेराल्ड फोर्डपछि पहिलो पटक कुनै पूर्व अमेरिकी राष्ट्रपतिले समितिसामु बयान दिन लागेका हुन्।

रिपब्लिकन नेतृत्वको हाउस ओभरसाइट कमिटीले गत महिना क्लिन्टन दम्पतीलाई अवहेलनामा राख्ने प्रस्ताव पारित गरेको थियो, जसलाई केही डेमोक्रेट सदस्यहरूले पनि समर्थन गरेका थिए।

क्लिन्टनका उप–प्रमुख स्टाफ एन्जेल उरेन्याले एक्समा दम्पती समितिसामु उपस्थित हुने पुष्टि गरेका छन्। क्लिन्टन दम्पतीले यसअघि नै शपथपत्रसहित बयान दिएको र एपस्टिनबारे आफूहरूसँग भएको ‘सीमित जानकारी’ उपलब्ध गराइसकेको बताएका छन्। एपस्टिनका पीडितहरूले बिल क्लिन्टनमाथि कुनै गलत कार्यको आरोप लगाएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *