दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।
प्रतिष्ठानका निमित्त डीन प्रा.डा. रमेश कँडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा उमेश नेपालको रोहबरमा उक्त सम्झौता भएको हो । प्रतिष्ठानमा क्यान्सरसम्बन्धी उपचारको व्यवस्था नहुँदा यसअघि साविक राप्ती अञ्चलसहित पश्चिम नेपालका नागरिकमा चितवन, काठमाडौंलगायत सहरमा महँगो शुल्क तिरेर उपचार गराउन जानुपर्ने बाध्यता थियो ।
उक्त सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.लम्सालले विश्वास व्यक्त गरे । क्यान्सर पीडितले स्थानीय क्षेत्रमा उपचार सेवा पाउने भएपछि समय र खर्चको बचत हुने उनले बताए ।
