वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गरेका छन् । साथै उनले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गरेका छन् ।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनलाई भेनेजुएलाको तेलमा ठूलो सम्झौता गर्न स्वागत रहेको बताए । उनले भारत चाँडै भेनेजुएलाको तेल खरिद प्रक्रियामा प्रवेश गर्ने र इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट आयात गर्ने योजना बनेको उल्लेख गरे । उनका अनुसार यस विषयमा सम्झौताको अवधारणा पहिल्यै तयार भइसकेको छ ।
“हामीले पहिले नै एउटा सम्झौता गरिसकेका छौँ । भारत आउँदैछ र उनीहरूले इरानबाट किन्नुको सट्टा भेनेजुएलाको तेल किन्न जाँदैछन् । त्यसैले हामीले सम्झौताको ढाँचा बनाइसकेका छौँ”, ट्रम्पले भने । उनले चीनलाई पनि भित्र आएर तेल किन्न स्वागत रहेको बताए ।
तर भारत सरकारले अहिलेसम्म राष्ट्रपति ट्रम्पको यस टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
यसअघि राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकालाई पाँच अर्ब २० करोड अमेरिकी डलर बराबरको पाँच करोड ब्यारेल तेल प्रस्ताव गरेको र त्यसमा सहमति भइसकेको दाबी गरेका थिए ।
