लन्डन। जेफ्री एपस्टाइनले आफूलाई एन्ड्र्यू माउन्टब्याटन–विन्डसरसँग यौनसम्पर्क गराउन बेलायत पठाएको दोस्री एक महिलाले दाबी गरेकी छन् । ती महिलाका वकिलले बीबीसीलाई यो जानकारी दिएका हुन् ।
वकिल ब्राड एडवड्र्सका अनुसार उक्त घटना सन् २०१० मा पूर्व राजकुमार एन्ड्र्यूको निवास रोयल लजमा भएको बताइएको छ । बेलायती नागरिक नभएकी ती महिला त्यसबेला करिब २० वर्षकी थिइन् । एन्ड्र्यूसँग रात बिताएपछि उनलाई बकिङ्घम प्यालेसको भ्रमण गराइएको र चिया खुवाइएको दाबी गरिएको छ ।
‘कम्तीमा एक महिलालाई जेफ्री एपस्टाइनले राजकुमार एन्ड्र्यूसँग पठाएका थिए,’ एडवड्र्सले भने ।बीबीसी न्यूजले एन्ड्र्यू माउन्टब्याटन–विन्डसरसँग प्रतिक्रिया मागेको भए पनि अहिलेसम्म कुनै उत्तर आएको छैन ।
बकिङ्घम प्यालेसले भ्रमण अतिथिहरूको नाम अभिलेख राख्ने गरे पनि महिलाको पहिचान सार्वजनिक नगरी उक्त भ्रमण पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।
एन्ड्र्यूसँग शाही निवासमै यौनसम्पर्क भएको दाबी गर्ने यो पहिलो एपस्टाइन पीडितको आरोप भएको बताइएको छ । एडवड्र्सले विश्वभरका २०० भन्दा बढी एपस्टाइन पीडितहरूको प्रतिनिधित्व गर्छन् ।
उनले भर्जिनिया जिउफ्रेको पनि पक्ष लिएका थिए, जसले सन् २००१ मा आफू १७ वर्षको हुँदा लन्डनमा एन्ड्र्यूसँग यौनसम्पर्क गराउन ल्याइएको आरोप लगाएकी थिइन् । जिउफ्रेले सन् २००१–२००२ बीच न्यूयोर्क र एपस्टाइनको निजी क्यारिबियन टापुमा समेत यौनसम्पर्क गर्न बाध्य पारिएको बताएकी छन् ।
एपस्टाइन सन् २००८ मा फ्लोरिडामा १४ वर्षीया बालिकाबाट यौनसम्पर्क मागेको अभियोगमा दोषी ठहरिएका थिए र उनले जुलाई २०१० मा सजाय पूरा गरेका थिए ।
