एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-१ गोलले पराजित गरेको हो ।
इस्टाडियो मानुएल मार्टिनेज भालेरोमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामाल, फेरान टोरेस र मार्कुस रासफोर्डले समान एक/एक गोल गरे । इल्चेको लागि अल्भारो रोद्रिगेजले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए । २९ औँ मिनेटमा रोद्रिगेजले गोल गर्दै इल्चेलाई १-१ गोलको बराबरीमा ल्याए ।
४० औँ मिनेटमा डी योङको पासमा टोरेसले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए । ७२ औँ मिनेटमा रासफोर्डले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३-१ गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोना २२ खेलबाट ५५ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट २४ अंक जोडेको इल्चे १२ औँ स्थानमा रहेको छ ।
