एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ४-० गोलले पराजित गर्दै आर्सनलले शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको हो ।
एल्यान्ड रोडमा भएको खेलमा आर्सनललाई जित दिलाउन मार्टिन जुबिमेन्डी, भिक्टोर ग्योकेरेस र गाब्रियल जेससले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको २७ औँ मिनेटमा जुबिमेन्डीले गोल गर्दै आर्सनललाई शुरूवाती अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा डार्लोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा अग्रता दोब्बर बनाएको थियो ।
६९ औँ मिनेटमा ग्योकेरेसले गोल गर्दै आर्सनललाई सहज जिततर्फ अगाडि बढाएका थिए । ८६ औँ मिनेटमा जेससले गोल गर्दै आर्सनललाई ४-० गोलको जित दिलाएका हुन् ।
जितसँगै आर्सनल २४ खेलबाट ५३ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट २६ अंक जोडेको लिड्स १६ औँ स्थानमा रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन हुगो एकिटिकेले दुई तथा फ्लोरिन विर्ट्जले समान एक/एक गोल गरे । न्युक्यासलको लागि एन्थोनी गोर्डनले एक गोल फर्काए ।
जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । सामना खेलबाट ३३ अंक जोडेको न्युक्यासल दसौं स्थानमा झरेको छ ।
