पोखरा । छैटौँ टाइगर कप २०२६ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै गण्डकीले तेस्रोपटक उपाधि जितेको हो । यससँगै गण्डकीले गत संस्करणको फाइनलमा भोगेको हारको बदला लिएको छ ।
पोखरा रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा पहिलो सेट गुमाएपनि गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो । पहिलो सेट २५-२३ ले पुलिसलाई सुम्पिएको गण्डकीले दोस्रो सेट २८-२६ ले जितेको थियो । यस्तै तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जित्दै गण्डकीले उपाधि जितेको हो ।
यसअघि गण्डकीले पहिलो र तेस्रो संस्करणको उपाधि जितेको थियो । आजै तेस्रो स्थानको लागि भएको खेलमा पर्वत भलिबल संघले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।
यस्तै शुक्रबार भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाईनै ३-० को सोझो सेटमा हराउँदै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलेले उपाधि जितेको थियो ।
च्याम्पियन दुवै टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे भने उपविजेतामा सिमित पुलिसले समान ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पायो । महिलातर्फ थाइल्यान्ड क्विन्स तेस्रो भएको छ ।
