मेरै ठाउँमा पनि सिँगौरी खेल्दै केही ठुटे सिंङ लिएर पुगेका छन्ः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताले पार्टी छोड्दैमा आफूहरू कमजोर नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले निजी स्वार्थ पूरा नभएपछि पार्टी त्याग्नेहरूकै कारण एमाले कमजोर नहुने बताएका हुन् । उनले अरु देश जलाउने र एमाले देश बनाउने पार्टी भएको जिकिर गरे ।

अध्यक्ष ओलीले अहिले अराजकता मच्चाउँदै जाने कि विधिको शासनको राज बनाउँदै जाने भन्नेमा लडाइँ चलिरहेको बताए । ओलीले भने, ‘अब भविष्यमा देश बनाउँदै जाने कि जलाउँदै जाने, अराजकता मच्चाउँदै जाने कि विधिको शासनको राज बनाउँदै जाने भन्नेमा लडाइँ चलिरहेको छ।’

अध्यक्ष ओलीले रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्कने बताए । उनले भने, ‘मेरै ठाउँमा पनि सिँगौरी खेल्दै केही ठुटे सिंङ लिएर पुगेका छन्। मैले केही भन्नै पर्दैन, अण्डा दुई प्रकारको हुन्छन् एउटा बतासे, एउटा साँच्चैको, बतासे अण्डाबाट चल्ला निस्कँदैन ।’

उनले रास्वपासँग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको बताए। उनले विध्वंश मच्चाउनेहरुको जनाधार नभएको बताए । उनले भने, ‘यी आकाशे खेती हुन् । धर्तीमा उनीहरु जनतासँग पुग्या छैनन् । कहाँबाट कसले खेलाएका हुन् थाहा छैन । एउटा मोबाइल भन्ने भाँडो छ, त्यही भाँडोबाट होडलो मच्चाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *