काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन् ।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार काठमाडौँमा आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताएका हुन् ।
‘विभिन्न कम्युनिष्ट पार्टी तथा सामाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने सङ्कल्पका साथ पार्टी एकता गरिएको हो’, प्रचण्डले भने ।
उनले असाधारण परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
उनले भने, ‘असाधारण परिस्थितिको, आकस्मिक ढङ्गले आइलागेको निर्वाचनमा हामी सहभागी हुँदै छौँ। त्यसकारण हामीले यसलाई सामान्य अर्थमा बुझेर हुँदैन। निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयास स्वरूप यो निर्वाचन अगाडि आएको छ।’
प्रचण्डले अझै पनि केही वर्ष राजनीतिमा भिड्ने बताए । उनले भने, ‘१०, १५ हुँदै आजबाट २३ वटा पुग्दैछ र विभिन्न कम्युनिस्ट र समाजवादी घटक मिलाएर एउटा नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पका साथ हामी अगाडि बढेका छौँ। म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु, तपाईँहरू ४० वरिपरिकाले त तपाईँले अघि भनेजस्तै प्रशस्त समय छ, अवसर आउँछ।’
