काठमाडौँ । पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुनेक्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीलाई चिन्तित बनायो ।
उक्त चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमञ्चयन कायम गराउन काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय ग¥र्यो । त्यसक्रममा प्रहरीले विभिन्न शङ्कास्पद क्षेत्रमा ‘चेक प्वाइन्ट’ राखेर निगरानी बढायो । काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट आतङ्क मच्चाइरहेको सो समूहलाई प्रहरीले गएराति काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न समूहका नाइके विनय तामाङसहित १० जनालाई बरामद गरिएको सामग्रीसहित सार्वजनिक गरेको छ ।
प्रहरीले काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी र २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट बा १२ च ७७०१ नंको कार र बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी तथा ६ थान मोटरसाइकल बरामद गरेको छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले बुधबार साँझ ६ देखि आज बिहान ३ बजेसम्म ‘अप्रेशन’ चलाएको थियो ।
सिसीटिभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । जाँचका क्रममा प्रहरीमाथिनै जाइलाग्न खोजेपछि गोली प्रहार गरेर सो समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । जेनजी आन्दोलनपछि सो समूह सक्रिय भएको अनुसन्धानले देखाएको छ ।
तामाङको समूहले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा मध्यरातका समयमा महिला तथा पुरुषबाट सुनका गरगहना र पैसा लुटपाट गर्ने अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनीहरुले मध्यराति १२ देखि बिहान ४ बजेसम्म विभिन्न काममा हिँडिरहेको सर्वसाधारणलाई कुटपिट र लुटपाट गर्ने गरेका थिए ।
लुटपाटका लागि उनीहरु तीन÷तीन जनाको समूह बनाएर मोटरसाइकमा हिँड्ने गर्थे । विनय समूहका विभिन्न सदस्यले दिउँसोमा ट्याक्सी चलाउने, ‘रेकी’ गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र राति १२ देखि बिहान ४ बजेसम्म लुटपाट मच्चाउने गरेका थिए । लुटपाट सकिएपछि उनीहरु पुनःट्याक्सी र निजी कारमा चढेर नियमित दैनिकीमा फर्कने गरेका थिए ।
सो समूहका नाइके विनय जेनजी आन्दोलनका क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिरासतबाट भागेपछि उनले आफ्नो नेतृत्वमा सो समूहलाई सक्रिय पारेका थिए । उक्त समूह स्वयम्भूमा सात, बूढानीलकण्ठ, बौद्ध, गौशालामा तीन÷तीन र भक्तपुरको ठिमीमा १३ लुटपाटको घटना घटाएको प्रहरीले जनाएको छ । गएराति सो समूह मुलपानी क्षेत्रमा लुटपाटका लागि निस्केको थियो । मूलपानी क्रिकेट मैदान नजिकै प्रहरीको ‘चेकप्वाइन्ट’ नरोकी प्रहरीमाथि नै जाइलाग्ने गर्नेगरी अघि बढेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
प्रहरीको गोली लागेको लुटेरा समूहका सदस्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समूहका कमाण्डर रहेका आयन लुटपाटका क्रममा मोटरसाइकल चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । विनय यसअघि २०७९ चोरी र २०८२ मा डाँका चोरीमा संलग्न रहेको थिए । आयनविरुद्ध भने २०७९ पुस २६ गते प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा चलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार लुटपाटमा संलग्न अधिकांशको पृष्ठभूमि अपराधिक रहेको बताउनुभयो । पेमा र सलोन भने दाजुभाइ रहेको उनले जानकारी दिए । प्रहरीबाट जोगिन सो समूहले मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान नखुल्ने गरी प्रयोग गर्ने गरेको थियो ।
