काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १९ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । प्रतिष्ठानको सीटी स्क्यान मसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियारले भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कायममुकायम रजिस्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाद देव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बीसी, तत्कालीन बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आषुतोश भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, राप्ती प्रतिष्ठानका तत्कालीन शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, तत्कालीन लेक्चरर डा. श्रीसिया पोख्रेल, तत्कालीन आईटी अफिसर हिरालला भण्डारी, तत्कालीन लेखा अधिकृत राजीव बस्नेत, तत्कालीन फिजियोथेरापिस्ट पूजा ठाकुर, तत्कालीन कम्युटर असिस्टेन्ट सतिशबहादुर शाही, तत्कालीन फामेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र तत्कालीन स्टाफ नर्स विन्दु पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रतिष्ठानमा खरिद गरिएको सीटी स्क्यान मसिन निर्धारित शर्त तथा मापदण्ड बमोजिम नरहेको अख्तियारले जनाएको छ ।








