नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल

काठमाडौँ ।  चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैङ्क अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच आज भेटवार्ता भएको छ ।

चीनको थियानचिनमा ‘बैङ्क फर इन्टरनेसनल सेटलमेन्ट्स’ द्वारा आयोजित बिसौँ एसिया प्यासिफिक हाई लेभल मिटिङ अन ब्याङ्किङ सुपरभिजन’ कार्यक्रममा उनीहरुबीच भेट भएको हो । भेटमा उनीहरूबीच  दुई केन्द्रीय बैङ्कबीच सहयोग र सहकार्यका विविध विषयमा कुराकानी भएको गभर्नर पौडेलको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदान–प्रदानका क्षेत्रका अवसर र चुनौती, वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल भएको थियो । यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्फबाट हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा पिबिओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदान–प्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैङ्क तयार रहेको धारणा राखे। गभर्नर पौडेलले दुई केन्द्रीय बैङ्कबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैङ्क तत्पर रहेको विचार व्यक्त गरे ।

भेटमा पिपुल्स बैङ्क अफ चाइना (पिबिओसी) का अन्तरराष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैङ्कका तर्फबाट बैङ्क सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *