काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात(फोटोफिचर)

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा बुधबार काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमा वर्षा र हिमपात भएको छ । अहिले अपराह्न काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ । काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । यो झण्डै भारी वर्षाको नजिक हो ।

यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ । बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ ।

जसका कारण जनजीवन प्रभावित भएको छ । बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ती जिल्लाका १०० जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ । यो हल्कादेखि मध्यमसम्म वर्षा हो ।

प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको जानकारी दिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमा भने कम नै वर्षा हुने देखिएको बताएका छन् । अहिले पछिल्लो १ घण्टामा भने गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा बढी वर्षा भएको छ । आज रातिदेखि यो प्रणाली कमजोर हुने र विस्तारै खुल्ने विभागले जनाएको छ । तर चिसो भने बढाउने र केही दिन बदली पनि रहने जनाइएको छ ।

आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

भोलि बिहीबार तराई भू–भागका धेरै स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले बताए ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।

हिउँदे वर्षाले किसान उत्साहित

लामो खडेरीपछिको हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । मुलुकका अधिकांश क्षेत्र गएरातिदेखि छिटपुट तथा मध्यम वर्षा भएपछि लगाएको बालीनाली सप्रने र नयाँ बालीका लागि मलिलो हुने भएकाले किसानहरू हर्षित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् ढकालका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुनका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा वर्षा भएको छ । उक्त मनसुनी प्रणाली सक्रिय भएपछि हिमाली क्षेत्रमा हिमपात भएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश स्थान र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको तल्लो क्षेत्रमा हल्का मात्रै वर्षा भएको भने सो प्रणालीले अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यका आसपासमा वर्षा गराइरहेको छ । यो प्रणाली कमजोर हुँदै उत्तरपूर्वतर्फ सर्दै गइरहेको विभागले जनाएको छ । कोशी प्रदेशमा सामान्य प्रभाव पर्ने र उत्तरी भेकमा हल्का हिमपात हुने अनुमान छ ।

कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला देशका विभिन्न स्थानमा परेको वर्षा हिउँदे बालीका लागि ‘अमृत’ सरह हुने बताउँछन्। असिनाबिनाको पानीले अहिले खेती गरिएको तोरीको दाना पुष्टि हुने र गहुँ उत्पादन बढ्ने उनको भनाइ छ ।

यससँगै हिउँदे वर्षापछि फलफूल तथा बोटबिरुवामा नयाँ पालुवा पलाउने र त्यसले आगामी वर्ष उत्पादन वृद्धि गराउन योगदान पुर्याउने उपमहानिर्देशक कोइरालाले जानकारी दिए। वर्षासँगै हिमाली क्षेत्रमा भएको हिमपातले स्याउलगायतका खाद्य तथा नगदेबालीको उत्पादन बढ्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *