काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन् । आफूमाथि लागेको आरोप ’कपोलकल्पित र पूर्वाग्रही’ रहेको दाबी गर्दै आयोगलाई स्पष्टीकरण बुझाएका हुन् । उनले कुनै पनि स्थान वा समयमा बालबालिकालाई निर्वाचनमा खटाउने निर्णय वा निर्देशन नदिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरेको भन्ने उजुरी साँचो होइन, कपोल्कल्पित, भ्रामक र दुःख दिने नियतले गरिएको उजुरी मात्रै हो । कुनै पनि मिति, समय र स्थानमा श्रम संस्कृति पार्टीले बालबालिकाहरुलाई चुनावी प्रचारप्रसारमा खटाउने निर्णय गरेको छैन, खटाएको, निर्देशन दिएको, फकाएर बोलाएको या कुनै प्रलोभन दिएर प्रचार गर्न लगाएको छैन । जहाँसम्म उम्मेद्वारको फोटो सहितको टी शर्ट लगाएको भन्ने कुरा आएको छ । सो सन्दर्भमा म हर्कराज राई ( हर्क साम्पाङ ) ले देश विकासमा नयाँ आयामिक मोडल श्रमदानको मोडल ल्याएर सारा नेपालीलाई श्रमदान गर्न प्रेरित गरिरहेको यथार्थ देखेर मेरो फोटो राखेर टी शर्टहरु छापी श्रमदाताहरुलाई दिंदा थप प्रेरणा र ऊर्जा मिल्छ भन्नाका खातिर वैदेशिक रोजगारमा रहनुभएका नेपाली दाजुभाइ दिदीबैनीहरुले यहाँका श्रमदाताहरुलाई टी शर्त छापिदिने गरेको जानकारी गराउँदछु ।’


