काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जनाएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेसले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले धेरै जसो ठाउँमा फिर्ता भइसकेको र बाँकीलाई पनि फिर्ता लिन निर्देशन दिइसकेको जानकारी दिए । उनले कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडा स्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको बताए ।
उनले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि बताए। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने बताए ।
उनले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे । उनले भने, ‘महाधिवेशनमा सहभागी नहुनेहरू समेत पार्टी गतिविधिमा जोडिन थालेका छन् अन्य दलका नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ।’


