काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र चुरे भावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले मंगलबार सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
उनीहरुबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिको पहिलो बुँदामा नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी एकता प्रकृयामा समायोजित भएको छ र पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह तारा रहने उल्लेख छ ।
त्यस्तै, चुरे भावर पार्टीले उठाउँदै आएको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको मुद्धालाई उच्च प्राथकितासाथ आत्मसात गरिने, चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने सहितका पदाधिकारी तथा विभिन्न तहका सदस्यहरुलाई योग्यता र क्षमता अनुसार केन्द्रीय समिति/प्रदेश समिति जिल्ला समिति/स्थानीय समितिमा समायोजन गरिने र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट मनोनयन गरेका उम्मेदवारहरू जिताउन सशक्त रुपमा लाग्ने सहमति गरिएको उल्लेख छ ।
