काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्य र उनकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ ९४ पैसा गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आचार्यले इन्जिनियर/राप तृतीय श्रेणी पदमा राष्ट्रसेवक भई सेवामा प्रवेश गरेको मिति २०४८ माघ ६ गतेदेखि उनले आयोगबाट सम्पत्ति विवरण फाराम बुझी लिएको मिति २०८० असार ६ गतेसम्मको अवधिमा उक्त रकमको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।
आयोगका अनुसार आचार्य र उनको एकाघर परिवार/संगोलमा रहेका व्यक्तिहरूको आम्दानी तथा खर्चको विश्लेषण गर्दा आचार्यको पारिश्रमिक/तलब, दैनिक भ्रमण भत्ता, स्थानीय भत्ता, बैठक भत्ता लगायत अन्य भत्ता बापत बचत रकम, जग्गा बिक्रीबाट प्राप्त आय, उनकी श्रीमती लिली सुवेदीको पारिश्रमिक बचत, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा बापतको रकम, घर बहालबाट प्राप्त आय, विभिन्न फर्म/कम्पनीमा गरेको लगानीबाट प्राप्त गरेको नाफा रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम, बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको मौज्दातमा प्राप्त ब्याज आय र विभिन्न व्यक्तिगतबाट बैंकिङ माध्यमबाट प्राप्त रकमसमेत जाँच अवधिमा वैधानिक रूपमा कूल ३ करोड ५१ लाख ८ हजार २१० रूपैयाँ १८ पैसा आर्जन गरेको देखिन्छ ।


