मतदाताले आलोचनाबाट भाग्ने ‘बालेन’ खोजेको हो ?

काठमाडौँ । केही राजनीतिक दलले चुनावमा जानुअघि पार्टीकातर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसले सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन साहलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै चुनावमा होमिएको अवस्था छ । यसरी चुनाव अघि नै भावी प्रधानमन्त्रीको घोषणा गरिएपछि केही दिनअघि सामाजिक संजालमा भावी प्रधानमन्त्रीको उम्मेदवारलाई बहसका लागि एउटै मञ्चमा ल्याउन भन्दै केही पत्रकार र सामाजिक संजाल प्रयोगकर्ताले अभियान नै चलाए ।

सामाजिक संजालमा यस्तो अभियान चलाइएपछि नेकपा एमालेका अध्यक्ष ओलीले त्यसलाई स्वीकार गरी आफू ‘पब्लिक डिबेट’को लागि तयार रहेको बताए । आइतबार बिहानै ओलीले सामाजिक संजालमार्फत आफू ‘पब्लिक डिबेट’को लागि तयार रहेको जानकारी गराएका हुन् । उनले यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रहसमेत गरे । उनले सामाजिक संजालमा लेखे, ‘पब्लिक डिबेट’को लागि तयार छौँ । नयाँ/पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ । यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।’

अध्यक्ष ओलीले यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएकाले यस्तो बहस आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’

ओलीले बहसका लागि आफू तयार बताएपछि रास्वपाका वरिष्ठ नेताले ओलीको स्टाटसमा कमेन्ट गर्दै आफू बहसमा सहभागी नहुने बताए । उनले लेखे, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

यसरी बहसका लागि ओली तयार, तर बोलनको अस्वीकारपछि यस विषयमा सामाजिक संजालमा फेरि अर्को बहस सुरु भएको छ । कसैले बोलनको आलोचना गरेका छन् त कसैले ओलीको । तर जे भएपनि बहस गर्ने आँट बालेन गर्नुपर्छ भन्ने मत पनि देखिएको छ ।

जेनजी अगुवा भावना राउत एक जिम्मेवार मतदाताको हैसियतले देशका सम्भावित प्रधानमन्त्रीहरूलाई सुन्न पाउनुपर्ने बताउँछिन् । उनी सामाजिक संजालमा ओलीसँग आफ्नो रिस भएपनि बहसका लागि तयार हुनु चाहिँ राम्रो पक्ष भएको बताएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, ‘ओलीसँग रिस र चित्त दुखाइ कति छ भन्ने कुरा शब्दमा व्यक्त गर्न गाह्रो छ । तर म यो पनि स्वीकार गर्छु कि नेपाल कानुनी राज्य हो, र कानुनभन्दा माथि कुनै पनि व्यक्ति वा आरोप हुँदैन। कानुनले निर्वाचनमा उम्मेदवार बन्न अनुमति दिएपछि सही–गलतको अन्तिम फैसला जनमत र ब्यालेटबाटै हुनुपर्छ भन्ने मान्यता म राख्छु । तर एक जिम्मेवार मतदाताको हैसियतले म मेरा देशका सम्भावित प्रधानमन्त्रीहरूलाई सुन्न चाहन्छु। ‘के गर्ने’ भन्दा पनि ‘कसरी गर्ने’ भन्ने प्रश्नका उत्तर चाहिएका छन्। सुशासन कसरी ल्याइन्छ ? भ्रष्टाचार कसरी अन्त्य गरिन्छ ? रोजगारी कसरी सिर्जना हुन्छ ? यस्ता सयौँ ‘कसरी’ का स्पष्ट उत्तर पाउनु मतदाताको अधिकार हो। जान्ने लाई छान्ने हो भने, जान्नेको दृष्टि, योजना र क्षमता बुझ्ने अवसर पनि दिनुपर्छ। लोकतन्त्रमा प्रश्न र बहसलाई दबाइन्छ भने त्यो लोकतन्त्रकै आत्माविरुद्ध हुन्छ । झापा–५ कम्तीमा पनि व्यक्तिपूजामा आधारित राजनीति दोहोर्याउन चाहँदैन। हामीलाई जवाफदेही नहुने, आलोचनाबाट भाग्ने अर्को ओलीजस्तो शासक चाहिँदैन।’

कतिपयले बालेनको निर्णयलाई कायरको संज्ञा पनि दिएका छन् । राजनीतिक विश्लेषक गौरी प्रधान लेख्छन्, ‘आफ्नो मूल प्रत्यासीसँग प्रत्यक्ष चुनाव भिड्नु बहादुरी हो, तर उसैसँग सार्वजनिक बहस गर्न आँट नगर्नु कायरता हो ।’

पत्रकार समा थापाले देशको प्रधानमन्त्री बन्न चाहने मानिस प्रश्नबाट भाग्न नपाउने बताएकी छन् । उनी लेख्छिन्, ‘देशको प्रधानमन्त्री बन्न चाहने मानिस प्रश्नबाट भाग्न नपाउनु पर्ने हो । ओली डिबेट गर्न तयार रहँदा २३ गतेको हत्यारासँग मञ्च सेयर गर्दिन भन्नेले निर्वाचन क्षेत्र चाहिँ किन सेयर गर्नुभएको होला ? आखिर चुनावी प्रतिस्पर्धा पनि समान समान हैसियतका बिच नै हुने होइन ?’

अर्की पत्रकार दिया चन्दनले त बालेनलाई बहसका लागि हिम्मत गर्न सुझाव दिएकी छन् । उनी लेख्छिन्, ‘देशको प्रधानमन्त्री बन्न चाहने व्यक्तिले आम निर्वाचनको विषयमा गरिने डिबेटमा सहभागी हुने हिम्मत राख्नुपर्छ । बच्चाहरुलाई गोली हान्ने ओली भए पनि गोली खान उक्साउने तिमी पनि हौ !’

सामाजिक अभियन्ता ईःईः ले बालेनको निर्णयप्रति कटाक्ष गरेका छन् । उनले बहसमा चिप्लिनुभन्दा बालेनले मञ्चन र नियोजित प्रस्तुति देखाउनु र स्टाटस ठोक्दै बस्नु बेस भनेका छन् । उनले लेखेका छन्, ‘कुनैपनि भिडियो अन्तरवार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो । चिप्लिनुभन्दा stage managed appearances गर्नु र status ठोक्दै बस्नु बेस। त्यतिले दम पुगेकै छ । केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविष्यका लागि अझ अजङ्गको अर्को केपी चाहिएन त ? Journalistic integrity र zeal भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानूनीराजको उपहास, सामाजिक–आर्थिक नीति, गणतन्त्र – संघीयता – धर्म निरपेक्षता आदिबारे केरकार गर्यो भने पारा तातिएर, volcano पड्केर उत्पात हुनसक्छ। त्यस्तो प्राकृतिक दुर्घटना हुन दिनुहुँदैन।’

बालेनले सार्वजनिक बहसमा भाग लिन अस्वीकार गर्नु अनौठो भने होइन । शनिबार सार्वजकि बिदाको दिन श्रीमती चढेको गाडी कोटेश्वरमा प्रहरीले रोकेपछि सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिएका बालेनले त्यसको पनि जवाफ दिएका छैनन् ।

त्यस्तै अहिले झापामा चुनाव प्रचारमा जाँदा मालपानीको आठ करोडको गाडी चढेको विषयमा पत्रकारहरुले प्रश्न गर्दा उनी प्रश्नबाट भाग्दै आएका छन् । उनलाई पत्रकारले ‘तपाईंले चढेको ८ करोडको गाडी कहाँबाट आयो ?‘ र ‘के यसप्रति तपाईं उत्तरदायी हुनु पर्दैन ?’ भनी प्रश्न गर्दा बालेनले भने कुनै जवाफ दिएनन्। उनी मौन रहँदै प्रश्न छलेर अघि भागे । रास्वपाले भावी प्रधानमन्त्री घोषणा गरेका उम्मेदवार यसरी कहिलेसम्म भाग्ने ? अनि पुराना ‘खत्तम’ भनेर हामीले प्रश्नबाट भाग्ने बालेनहरु खोजेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *