काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरु हुनेछ ।
आज हुने निर्णायक खेलमा नेपाल फराकिलो जित निकाल्दै सुपर सिक्समा पुग्ने सम्भावनालाई जीवित राख्न चाहन्छ । आजको खेलमा जित निकालेपनि नेपालले थाइल्याण्ड र नेदरल्यान्ड्स बीचको खेलको नतिजा पर्खिनुपर्नेछ ।
नेपालले स्कटल्याण्ड र नेदरल्यान्ड्सले थाइल्याण्डलाई हराएको खण्डमा नेपाल, स्कटल्याण्ड र थाइल्याण्डको समान चार/चार अंक हुनेछ । यस्तो अवस्थामा सबैभन्दा बढी नेट रनरेट हुने टोली सुपर सिक्समा पुग्नेछ ।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो ।
हाल नेपाल ३ खेलबाट २ अंक जोड्दै समूह ‘बी’को चौथो स्थानमा रहेको छ भने समान खेलबाट ४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
आजै हुने समूह ‘बी’को अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्याण्ड भिड्नेछन् । यस्तै समूह ‘ए’को खेलमा पीएनजी र अमेरिका तथा आयरल्याण्ड र नामिबिया भिड्दैछन् ।
