त्रिवि सुधारको एजेन्डा दलहरुको घोषणापत्रमा पर्ला ?

-रञ्जनकुमार दाहाल ।

त्रिभुवन विश्वविद्यालयलाई आकासबाट हेर्दा उत्तरतर्फको भाग अझै पनि न्यून संरचनाका कारण खुल्लै देखिन्छ । अब उच्च गुणस्तरीय शैक्षिक पूर्वाधारसहितको आधुनिक मास्टर प्लान सुरु गर्ने अत्यावश्यक समय आएको छ । हाम्रा उच्च शिक्षाका आवश्यकताहरूलाई ध्यानमा राख्दै स्कूल अफ अर्थ साइन्सेस, स्कूल अफ फिजिकल साइन्सेस, स्कूल अफ एप्लाइड साइन्सेस एन्ड टेक्नोलोजी लगायतका नयाँ शैक्षिक संरचनाहरू स्थापना गर्नुपर्छ । साथै, उच्चस्तरीय अनुसन्धान सुविधाहरूका लागि केन्द्रीय प्रयोगशाला (Central Research Laboratory) र अन्य विशेष पूर्वाधारहरू निर्माण गर्नु पनि अत्यावश्यक छ ।
गत ३५ वर्षमा शैक्षिक पूर्वाधारमा पर्याप्त लगानी भएका छैनन्, जसको परिणाम अनुसन्धान उत्पादन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र विश्वविद्यालयको विश्वस्तरिय स्थानमा स्पष्ट देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयलाई पूर्वाधार, शैक्षिक गुणस्तर, अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट आधुनिक बनाउन अब ढिला गर्नु हुँदैन । यत्तिकै महत्त्वपूर्ण विषय हो, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण। उचित योजना बनाइएमा त्रिभुवन विश्वविद्यालयले भुटान, भारत, बंगलादेश, पाकिस्तान र म्यान्मारका विद्यार्थी तथा अनुसन्धानकर्तालाई आकर्षित गर्दै क्षेत्रीय शैक्षिक केन्द्र बन्न सक्छ । यसले नेपालको शैक्षिक प्रभाव र कूटनीतिलाई पनि मजबुत बनाउनेछ । म आफैं जापान, चीन, ताईवान, र युरोप गएर आगन्तुक प्राध्यापकको रुपमा पढाउँछु । तर आफ्नै विश्वविद्यालयमा अन्तर्राष्ट्रियकरण गर्ने तयारी छैन ।

अब मूल प्रश्न उठ्छः आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने कुनै पनि राजनीतिक दलले त्रिभुवन विश्वविद्यालय सुधार र आधुनिकीकरणलाई आफ्नो एजेन्डामा समावेश गरेको छ कि छैन ? यदि नेतृत्वले वास्तवमै भविष्यको पुस्तामा लगानी गर्न चाहन्छ भने उच्च शिक्षा सुधार, त्रिभुवन विश्वविद्यालयबाट सुरु हुने कुरा राष्ट्रिय एजेन्डा बन्नैपर्छ । के नयाँ पार्टीले र त्यसका नव नेताहरुले यसको बारेमा सोचेको होलान् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *