डावोस । स्विजरल्याण्डको डावोसमा सम्पन्न ‘विश्व आर्थिक मञ्च’मा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपका नेताहरूको प्रतिक्रियालाई ढिलो, असङ्गठित र अपर्याप्त भएको भन्दै कडा आलोचना गरेका छन् । उनले रुसको आक्रमण सुरु भएको करिब चार वर्षपछि पनि युरोपले पर्याप्त कदम नचालेको बताए ।
जेलेन्स्कीले आफ्नो भाषणमा युरोपलाई ‘विश्व शक्ति बन्न आवश्यक छ’ भन्दै अन्य देशहरूको तुलनामा ढिलो निर्णय गर्ने प्रवृत्तिको आलोचना गरे । उनले अमेरिकाको भेनेजुएला र ईरानसँगको साहसी कदमहरूसँग तुलना गर्दै युरोपले ढिला प्रतिक्रिया दिएको बताए ।
“गत वर्ष म डावोसमा भाषण सकिँदा भनेको थिएँ – युरोपले आफैँको रक्षा गर्न जान्नुपर्छ । एक वर्ष बितिसक्यो, तर केही बदलिएको छैन । हामी अझै उही कुरा दोहोर्याउन बाध्य छौँ ।” उनले यसलाई फिल्म ‘ग्राउन्डहग डे’ सँग तुलना गरे, जसमा पात्रले एकै दिन बारम्बार जीवन बिताउँछ ।
युरोपले युक्रेनलाई आर्थिक, सैन्य र मानवीय सहयोग गरेको भए पनि सबै यूरोपेली सङ्घका सदस्य राष्ट्रहरूले समर्थन गरेका छैनन् । युरेनले युरोपका राजनीतिक असहमति र ढिला निर्णयले समस्यामा परेको भन्दै गुनासो गरेका छन् ।
ट्रम्पसँगको बैठक
जेलेन्स्कीले डावोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग करीब एक घण्टा लामो निजी बैठक पनि गरे । ट्रम्पले बैठकलाई ‘अत्यन्तै राम्रो’ भनेका छन् भने जेलेन्स्कीले यसलाई ‘उत्पादक र अर्थपूर्ण’ बताए ।
ट्रम्पले पत्रकारहरूलाई भने,“मसँग धेरै राम्रो बैठकहरू भइसकेका छन्, तर अझै समाधान देखिँदैन । दुवै पक्षले सम्झौता गर्न चाहन्छन् र सबैले समझदारीका प्रयास गरिरहेका छन् ।”
रुसको सेना करिब २० प्रतिशत युक्रेन कब्जा गरिसकेको छ । युक्रेनले आफ्नो हतियार उत्पादन बढाएको भए पनि पश्चिमी देशहरूको सहयोग अझै आवश्यक छ । देशमा सैनिक कमि छ र हाल करिब दुई लाख जना सैन्यजनको पलायन भएको छ ।
युरोपमा जेलेन्स्कीको आलोचना
जेलेन्स्कीले युरोपलाई मुख्य निर्णयमा ढिला हुनु, सुरक्षा खर्च कम हुनुलाई रोक्न नसक्नु जस्ता विषयमा आलोचना गरे । “युरोप अझै भूगोल, इतिहास र परम्परामा आधारित महसुस हुन्छ, वास्तविक राजनीतिक शक्ति बन्न सकेको छैन ।”
शान्ति वार्ता प्रयास
अमेरिकी मध्यस्थतामा युक्रेन–रुसबीच शान्ति सम्झौता प्रयास भइरहेको छ । ट्रम्पका विशेष प्रतिनिधि र उनका परिवारका सदस्यले मस्कोमा वार्ता गरेका छन् । जेलेन्स्कीले पूर्वी युक्रेनमा रुसद्वारा कब्जा गरिएका भूभागको भविष्य अझै तय नभएको बताए ।
उनले दुई–दिने त्रिपक्षीय बैठक संयुक्त अरब इमिरेट्समा हुने बताए । जेलेन्स्कीले भने,“रुसले पनि सम्झौता गर्न तयार हुनुपर्छ, केवल युक्रेन मात्र होइन ।”
उनले ट्रम्पलाई अमेरिकी निर्मित प्याट्रियट हवाई रक्षा प्रणाली उपलब्ध गराएकोमा धन्यवाद दिए र यस्तै थप प्रणालीको माग गरेका छन् ।
